सङ्खुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका–१ र २ को सीमाक्षेत्रमा करिब २,७०० मिटर उचाइमा अवस्थित न्युरेनीधाम एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा पोखरी, हरियाली वन, पूजास्थल तथा धामी–झाँक्रीहरूले स्थापना गरेका विभिन्न धार्मिक संरचनाहरू रहेका छन्। विशेष गरी उधौली र उभौली पूर्णिमाका अवसरमा यहाँ श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहने गर्दछ। धार्मिक विश्वासअनुसार पोखरीमा जल अर्पण गरी पूजा–आराधना तथा प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।
न्युरेनीधाम धार्मिक महत्वका साथै प्राकृतिक र सांस्कृतिक पर्यटनको दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त गन्तव्यका रूपमा परिचित छ। बुधबारे, तेयुङ तथा डाँडागाउँबाट पदमार्ग हुँदै पुग्न सकिने यस क्षेत्रमा हाल चित्रेसम्म सडक सुविधा विस्तार भइसकेको छ। यहाँ नियमित रूपमा पूजा–आराधना, धार्मिक अनुष्ठान तथा सामूहिक ध्यान कार्यक्रमहरू सञ्चालन हुने गरेका छन्, जसले स्थानीय समुदायबीच सामाजिक तथा सांस्कृतिक एकता सुदृढ बनाउन सहयोग पुर्याएको छ। न्युरेनीधामको संरक्षण, प्रचार–प्रसार तथा विकासले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।