काईकोक झरना

काईकोक झरना

संखुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका–१ मा अवस्थित काईकोक झरना गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना बोकेको प्राकृतिक सम्पदा हो। सिसुवाखोलाको रियाम्मा गाउँ नजिकै रहेको यो झरना बालाको पौखमटारबाट सहज रूपमा पुग्न सकिने दूरीमा पर्दछ। सिसुवाखोला तरेर केही समय उकालो यात्रा गरेपछि पुगिने यो स्थलको प्राकृतिक वातावरण, हरियाली वन क्षेत्र र झरनाको मनोरम दृश्यले जो-कोहीलाई आकर्षित गर्छ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको काईकोक झरना प्रकृतिप्रेमी, पदयात्री तथा साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। झरनासम्मको पहुँचलाई थप सहज बनाउन सिलीचोङ गाउँपालिका ले पदमार्ग निर्माण तथा पर्यटकीय पूर्वाधार विकासमा लगानी सुरु गरेको छ। आवश्यक संरक्षण, प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न सकेमा काईकोक झरना सिलीचोङ क्षेत्रकै प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुने विश्वास गरिएको छ।